भूकम्पपछि मौलाएको लोभ [अडियोसहित]
भूकम्पका कारण मानवीय र भौतिक क्षतिको ठूलो तथ्यांक बाहिर आयो । सरकारी र व्यक्तिगत तवरबाट राहत वितरणका कैयौँ काम भए । जसले भूकम्पपीडितलाई तत्काललाई ठूलै राहत पनि दियो । तर, क्षतिको यकिन विवरण र स्थानीय आवश्यकताबारे मिहिन अध्ययन नगरी गरिएको राहत वितरणले कैयौँ सामाजिक विकृति पनि निम्तियो । धेरै ठाउँमा त राहत पाउनका लागि नक्कली भूकम्पपीडित पनि जन्मिए । केही भने राहतको ओइरो लागेकाले मान्छेले आफ्नो घरयासी धन्दा र कृषि कर्ममा समय नै दिन छाडे । धादिङ सलाङटारका दुई अगुवाले गाउँँमा राहतले निम्त्याएको विकृति र राहतको लोभमा के सम्म गाउँँमा भयो भन्ने केही प्रतिनिधि घटना सुनाए । ती व्यक्तिको नाम उल्लेख नर्गने सर्तमा यहाँ प्रतिनिधि उदाहरण प्रस्तुत गरिएको छ । जसले, भूकम्पले निम्त्याएको विकृतिलाई बुझ्न मद्दत गर्दछ । घटना १ उनी गाउँँकै अगुवामध्येमा पर्छन् । भूकम्प आएपछि गाउँँमा धेरैको घर भत्कियो । तर, उनको घर छिसिक्क पनि केही भएन । गाउँँकै सहकारीले सबैलाई त्रिपाल वाँड्ने भएपछि उनी पनि सहकारीमा पुगेर भने, ‘सबैको पैसा जम्मा गरेर सहकारी स्थापना गरेको हो । भूकम्पले मेरो घर केही नभएपनि त्रिपालमा मेरो अधिकार लाग्छ । त्रिपाल त जसरी पनि चाहियो हजुर । सहकारी सञ्चालक उनको हठका अघि हारे र त्रिपाल दिलाइदिए । त्यसपछि गाउँँमा सरकारी इन्जिनियरहरू क्षतिको मूल्यांकन गर्न छिरे । उनको केही नभएको घरलाई पनि परिवारका सदस्यहरूको हठका कारण सामान्य क्षति भनेर वर्गीकरण गरिदिए । तर, यतिले उनको चित्त बुझेन । धेरै क्षति भएको रिपोर्ट लेखाउन पाए धेरै सरकारी राहत पाइन्थ्यो भन्ने उनको लोभ थियो । सर्वदलीय संयन्त्रमा पुगेर उनले हठ गरे, ‘मेरो घरलाई पूर्ण क्षति भनेर लेखाइदिनु पर्यो । संयन्त्रका मान्छेले उनको कुरा मानेनन् । तर, उनले हठ छाडेनन् । गाउँका सबैले सरकारी राहत पाउँदा आफू किन खाली बस्नु । आखिर कसैको गोजीको पैसा जाने होइन क्यारे । उनको हठमा हार खाएर सर्वदलीय संयन्त्रका मान्छेले उनलाई घर आंशिक क्षति भएको विवरण तयार पारिदिए । उनी खुशी भएर बाटो लागे । २९ गते फेरि ठूलो भूकम्प गयो । फेरि, इन्जिनियरको टोली गाउँ पसे । गाउँका सबै घरको फेरि परिक्षण गर्नु र क्षतिको विवरण उतार्नु सजिलो थिएन । इन्जिनियरको टोलीले निष्कर्ष निकाल्यो, पहिले सामान्य क्षति भएकालाई अहिले आंशिक क्षति भनेर रिपोर्ट तयार पार्ने र पहिले आशिंक क्षति भएकालाई अहिले पूर्ण क्षतिमा नाम लेखाइदिने । यही कुरामा सर्वदलीय संयन्त्रका प्रतिनिधी प्नि सहमत भए । यसरी ती अगुवाको घर पूर्ण क्षतिमा परिणत भयो । उनले सोही अनुसार राहत पनि थापे । गाउँमा उनको प्रवृत्तिमाथि खासखुस कुरा त चलिरहन्छ । तर, उनी आफ्नो काममा लाज मान्दैनन् । अझै भन्छन्, ‘कसैको गोजीको पैसा खाको हैन क्यार । खाको पनि सरकारी हो ।’ उनीजस्तै तर्क गर्ने गाउँमा अरू छन् । तर, कोही त्यस्ता मान्छेको विरुद्धमा बोल्दैनन् । घटना २ मलेखुदेखि धादिङबेसीसम्म भूकम्पले धेरैको घर भत्केपनि खानै नपाएर मर्ने अवस्था कसैको छैन । हामीलाई अहिलेको आवश्यकता भनेको पाल, जस्ता मात्रै हो । हाम्रो घर न भत्केको हो । माथिल्लो वेल्ट कुम्पुर भन्ने ठाउँमा सबैको घर भत्केको छ । कसको घरको साँध सिमाना कहाँ भन्ने थाहा छैन । त्यहाँ कैयौँ गाई भैँसी मरे । दिने हो भने, त्यहाँ लगेर राहत दिनुपर्छ । हाम्रो त भकारीमा धान टन्नै छ । हामीत त धान झिकेम् । घरमा धान हुँदा हुँदै पनि राहतको चामल लिनु हुन्न है भन्दा त मान्छेहरू उल्टै मसँग पो रिसाए । घरको धान कहाँ राख्ने भन्ने टुंगो छैन, मान्छेहरू राहतको चामल लिन दौडिरहेका छन् । त्यही चामल लगेर कहाँ राख्ने हो कसैलाई था छैन । मान्छेहरू कस्ता भएका होलान् । घरमा दस मुरी धान छ । तर, राहतमा र्याल काढेका छ्न । गाउँका अरूले राहत लिँदा पनि मैले राहत लिनै दिइन । मेरो कुरा सुनेर परिवारकै सदस्य रिसाए । पल्लाघर यति चामल ल्याइसके । हाम्रा घर ल्याउनै दिन्न भनेर जाहन पनि रिसाइन् । तर, म अटेरी भइराखेँ । घरमा राख्ने ठाउँ नहुँदा पनि राहतको चामललाई के विधि लोभ गरेका मान्छेले । भूकम्पपछि मलाई राखनधरन र राती ओत लाग्न बहुतै गाह्रो भयो । पुराना जस्ता टालटुल पारेर टहरा त बनाएँ तर राती पानी चुहिने भएर कम्ता समस्या पर्यो । टहरोभित्र हालेको भकारी पनि भुईंको पानी रसाएर दुई तीन मुरी धान कुहिएछ । त्यसपछि मलाई समस्या पर्यो । मलेखुका एकजना समाजसेवीले जस्ता पाता दिन्छु भने । उनले ९ फुटे जस्ता केही पाता दिए । अब परेन फसाद । मेरो टहरो ६ फिटको थियो । त्यही जस्ताका लागि टहरो ठूलो बनाउने कुरा पनि भएन । भाङ पेल, धतुरो पेल, निस्क्यो मेरो तेल भनेजस्तै मैले जस्तालाई तेर्सो पारेर छाउने विचार गरेँ । छाना त छाएँ तर त्यही राती मज्जाले झरी पर्यो । त्यो पानी त जस्ताको डुडबाट बग्न नसकेर घरभित्रै पानी छिर्यो । रातभरी पर्नु आपत पर्यो । त्यसपछि फेरि मिस्त्री बोलाएर पुरानो जस्ताले दुई चार ठाउँमा टालटुल पारेर काम चलाएँ । त्यही भएर राहत पनि कहाँ कसलाई र के आवश्यकता छ भनेर दिनुपर्ने रैछ । तर, आवश्यकता बुझ्दै नबुझी दिइएको राहत त अर्घेलो हुँदो रैछ ।
No comments:
Post a Comment