Thursday, January 21, 2016

दुलहाका लागि पहिरन


विवाह भन्नासाथ धेरैजसोको पहिलो ध्यान दुलहीको पहिरन, मेकअप तथा गहनामा जान्छ तर दुलहाका लागि भने त्यतिविधि ध्यान दिइएको पाइँदैन । दुलहाका लागि एक–दुई जोर दौरा–सुरुवाल वा सुटसम्म बनाइन्छ । यद्यपि अहिलेका दुलहाहरू पनि स्टाइलिस्ट देखिने चाहना राख्छन् । उनीहरू कसरी आकर्षक देखिने भनेर विभिन्न बुटिक तथा टेलरिङ सपहरू पुग्छन् भने बजारमा के–कस्तो ट्रन्ड छ भन्ने बुझेर डिजाइन तथा कलर रोज्छन् । धेरै पहिले दौरा–सुरुवाल लगाउने दुलहाहरू बीचमा सुटप्रति आकर्षित भए पनि अहिले पुन: डिजाइनर दौरा–सुरुवाल लगाउने चलन छ । दौरा–सुरुवालमा राम्रो प्रिन्टको ढाका नै धेरैले रुचाएको पाइन्छ यद्यपि दौरा–सुरुवालको डिजाइनमा भने केही परिवर्तन आएको छ । पहिले दुलहाले दौरा–सुरुवालमा सेतो पटुका लगाई खुकुरी भिर्ने चलन थियो भने अहिले भेल्भेटमा ह्यान्डवर्क गरिएको डिजाइनर पेटी लगाउने चलन छ । ढाकामा पनि जरी तथा साइनिङ आउने फेब्रिक प्रयोग हुन्छ । खुकुरीको कभर पनि डिजाइन गरिएको हुन्छ । दुलहाको टोपी पनि दौराकै म्याचिङमा हुन्छ । अहिले जुत्ता पनि दौरा–सुरुवालकै म्याचमा बनाइन्छ । 
एकताका कतिपय दुलहाले शेरवानी लगाउने चलन पनि थियो तर त्यो धेरै समय टिकेन ।  शेरवानी विवाहको दिनभन्दा इंगेजमेन्ट तथा पार्टीको दिन भने अहिले पनि कतिपय दुलहाको रोजाइमा परेको देखिन्छ । यद्यपि शेरवानी दुलहाले भन्दा दुलहा–दुलहीका परिवारले बढी लगाउँछन् । 
अहिले बाहुन–क्षेत्री समुदायका दुलहाहरूले दौरा–सुरुवाल मन पराएजस्तै नेवार समुदायका दुलहाहरू पनि दौरा–सुरुवाल नै मन पराउन थालेका छन् । नेवार समुदायका कतिपय दुलहा भने सुटमै ठाँटिन रुचाउँछन् । सुटको ट्ेरन्ड वर्षैपिच्छे फरक–फरक भए पनि व्यक्तिको रुचिअनुसार त्यसको डिजाइन तयार गरिन्छ । गत वर्षसम्म दुलहाका लागि साइनिङ पाइपिङ डिजाइनको सुट निकै चलेको थियो । यो कोरियन मुभीबाट प्रभावित डिजाइन हो तर अहिले यो डिजाइनको फेसन आउट भएको छ भने दुई बटन तथा सिंगल बटनका सुट फेसनमा छन् । अहिले श्रेष्ठ टेलरिङ, रेमन्ड, लुइस क्राउन, सनपरीजस्ता दर्जनौं ठाउँमा दुलहाका लागि आवश्यक दौरा–सुरुवाल, सुट, शेरवानी, सर्ट–पाइन्ट, टोपी, बेल्ट, मोजा, जुत्ता, खुकुरी कभरदेखि आवश्यक सबै सामग्री उपलब्ध हुन्छन् । गुन्यू–चोलो, ड्रिम वेयर, उत्तम्स क्रियसन, एसम्यामजस्ता बुटिकहरूमा पनि दुलहाका लागि सुट, शेरवानी, दौरा–सुरुवाल, टोपी तथा भेल्भेट बेल्टहरू तयार पारिन्छ । 

विनोद श्रेष्ठ, प्रबन्ध निर्देशक, श्रेष्ठ टेलरिङ
अहिले दुलहाहरूका लागि कुन पहिरनको माग बढी छ ?
दौरा–सुरुवाल नै रुचाइएको छ । नेवार समुदायका कतिपय दुलहाहरू पनि डिजाइनर दौरा–सुरुवाल सिलाउन आउँछन् ।
त्यसो भए दुलहाहरूमाझ सुटको क्रेज घटेको हो त ?
सुटको क्रेज त नघट्ला तर पनि स्वयम्वरका दिन भने दौरा–सुरुवाल लगाएर जानेहरू भने बढेका छन् । इंगेजमेन्ट तथा रिसेप्सन पार्टीका लागि सुट नै सबैको रोजाइमा पर्ने गरेको छ ।
दौरा–सुरुवालमा तुलनात्मक रूपमा कस्तो परिवर्तन आएको छ ?
पहिले टेलिकटनको सादा दौरा–सुरुवाल लगाउँथे र सेतो कपडाको पटुका बाँध्थे तर अहिले विभिन्न डिजाइनका आकर्षक ढाकाका दौरा–सुरुवालमा भेल्भेटको पेटी, त्यसैसँग म्याच गर्ने ढाकाका जुत्ताहरूको फेसन छ । दौरा–सुरुवाल लगाए पनि स्टाइलिस्ट देखिन नयाँपनको खोजी गरिन्छ । त्यसैले हामीले पनि डिजाइनमा केही न केही फेरबदल गरिरहेका छौं ।
अहिले दुलहाका लागि कस्तो सुटको फेसन छ ?
दुईतिर चिरिएको दुई बटनवाला कोट र क्रिज नभएको पाइन्टको फेसन छ । क्रिज नभएको पाइन्ट फिटिङ हुन्छ । अहिले स्लिम फिट चलेको छ । दुलहाको रिसेप्सन पार्टीका लागि टबसीको चलेको छ । यसमा फर्मल ज्याकेट लुक्स आउँछ । दुलहाका लागि ग्रे, रोयल ब्लु कलरको सुट आकर्षक देखिन्छ भने पार्टीका लागि भने कालै उपयुक्त हुन्छ । दुलहाहरूले सर्ट, कोटसँग म्याचिङ ह्यांकी, कप्लिङ एवं टाइ राख्ने चलन छ । सिंगल बटन र पछाडि चिरिएको अलि मोटा दुलहाहरूले रुचाउँछन् भने भर्खरकाहरूले स्लिम फिटिङ मन पराउँछन् । कतिपय दुलहाले थ्रिपिस पनि लगाइरहेका छन् ।  


http://bit.ly/1JS5NSj

No comments:

Post a Comment