Thursday, January 21, 2016

सोच तपाईंको नजर अरूको

व्यक्तित्व नै मानिसको दर्पण हो । मानिसको व्यवहारबाट नै उसका सम्बन्धमा धेरै कुरा थाहा पाउन सकिन्छ । उसको सोच, हाउभाउ, रहनसहन, कुरा गर्ने शैली, पहिरन आदिको गहिरो प्रभाव सामुन्नेको व्यक्तिमा पर्छ । त्यसैले अरूलाई आकर्षित गरी सफल बन्न निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ । 
मानसिकता 
अधिकांश व्यक्ति सोच र समझदारीका कारण सफल वा असफल हुन्छन् । व्यक्तिले निराशावादी सोचका कारण धेरै कुरा गुमाउँछ भने आशावादी मानसिकताका कारण सजिलै लक्ष्य प्राप्त गर्न सक्छ । आफूमा केही कमी छ र आफ्नो सहयोगी हरेक क्षेत्रमा दक्ष छ भने हीन भावनाको सिकार हुनुको साटो आफ्नो त्यो कमीलाई हटाउने प्रयास गर्नुपर्छ । सधैं सकारात्मक मानसिकता राख्नुपर्छ ।
हाउभाउ 
कतिपय मानिस कुरा गर्दा सीधा उभिनुको साटो बाङ्गो उभिन्छन्, हातखुट्टा कन्याएर वा नङ टोकेर बस्छन् । कतिपय मानिस त कुराकानीका क्रममा सम्बन्धित व्यक्तिसित नजर जुधाउन पनि सक्दैनन् । यो कमजोरी हो । कुरा सधैं आँखा जुधाएर आत्मविश्वासपूर्वक गर्नुपर्छ । त्यसो गर्दा सम्बन्धित व्यक्ति आफूबाट प्रभावित हुने मात्र होइन उसलाई आफ्नो आत्मविश्वास, इमान्दारिता एवं सत्यताको बोध पनि हुन्छ । 
कुराकानी
कतिपय मानिसमा अर्थहीन कुराकानी गर्ने बानी हुन्छ । आधा–अधूरो जानकारीका आधारमा उनीहरू कुनै पनि विषयमा कुराकानी गर्छन् । त्यस्तो स्थितिमा जानकार व्यक्तिहरू त्यहाँबाट चुपचाप निस्कनुलाई नै उचित मान्छन् । वास्तवमा समझदार र जानकार व्यक्ति व्यर्थका कुराकानीमा लागेर समय खेर फाल्न चाहँदैनन् । अत: जुन विषयमा जति जानकारी छ, त्यहीअनुसार कुरा गर्नुपर्छ, होइन भने नबोल्नु नै राम्रो हुन्छ । यसबाट ज्ञानको भण्डार बढ्नुका साथै अरूको नजरमा आफ्नो छवि राम्रो श्रोताका रूपमा पनि कायम रहन्छ । आफ्नो कुरा व्यक्त गर्नुभन्दा पहिले अरूलाई अवसर दिनु राम्रो हुन्छ ।
पहिरन
हामी कुनै पनि सुन्दर वस्तुप्रति आकर्षित हुन्छौं । त्यसैले आँखा लोभी मन पापी भनिन्छ । त्यसमा पहिरन पनि महत्वपूर्ण हुन्छ । कसैका बारेमा जानकारी लिनुपर्दा सम्बन्धित व्यक्तिसित कुरा गरेपछि मात्र थाहा हुन्छ । धेरै कुरा त मानिसको पहिरनबाट पनि थाहा हुन्छ । अत: अवसर, शारीरिक बनावट, मौसम एवं पेसाअनुरूप पहिरन लगाउनुपर्छ । पहिरनले व्यक्तित्वमा निखार ल्याउनुका साथै आकर्षण पनि थपेको हुनुपर्छ । 
आचरण 
सँगै काम गर्दा कहिलेकाहीँ विवाद वा भनाभन पनि हुन सक्छ । आफ्ना केही कुरा अरूलाई मन परेन वा आफूलाई अरूको कुनै बानी चित्त बुझेन भने बहस हुनसक्छ । त्यस्तो अवस्थामा कतिपय मानिस रिसाउन सक्छन् । त्यसबाट पनि बच्नुपर्छ । आफ्ना सहयोगी, सहकर्मीसित मात्र नभएर तिनका मित्रसित पनि आफ्नो व्यवहार सहयोगी एवं सम्मानजनक हुनुपर्छ । यसबाट उनीहरू आफूसित भावनात्मक रूपले जोडिन पुग्छन् । फलस्वरूप सधैं उनीहरूका साथ पाउन सकिन्छ । यसबाहेक अरूको नजरमा सम्माननीय पनि बनिन्छ । सबैको साथ, सहयोग एवं सम्मानबाट नै सफलता सहज र सम्भव बन्दै जान्छ । यसका लागि पनि उनीहरूप्रति आभारी हुनुपर्छ जसबाट अवश्य सफलता प्राप्त हुन्छ ।

http://bit.ly/1ODTYv4

No comments:

Post a Comment